ब्राजिलका ११६ शहर जलमग्न
![](https://www.philcomission.com/wp-content/uploads/2021/12/brazil_rm8Ljh5Ukj.jpg)
पुस १४,२०७८
ब्रासिलिया । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियाका ११६ शहरमा मंगलबार भीषण वर्षाका कारण संकटकालीन अवस्था सिर्जना भएको छ।
नोभेम्बर अन्तिमदेखि त्यस क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ। हालै ब्राजिलका उत्तर र दक्षिणपूर्वका कम्तीमा पाँच अन्य राज्यमा पनि बाढी आएको छ। बाहियामा बाढीबाट ४ लाख ७० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।कम्तिमा ५० शहरमा घर र व्यापारिक प्रतिष्ठानहरु डुबानमा परेका छन् र मानिसहरू आफ्नो सामान छोड्न बाध्य भएका छन्। प्रदेश सरकारको आधिकारिक तथ्याङ्कअनुसार ३४ हजार १६३ जना घरबारविहीन भएका छन् भने करिब ४३ हजार विस्थापित भएका छन्।
महिनाको सुरुदेखि हालसम्म आएको बाढीका कारण २१ जनाको मृत्यु भएको छ भने ३५८ जना घाइते भएका छन्। सरकारी निकाय ‘नेशनल सेन्टर फर मनिटरिङ एण्ड अलर्ट अफ न्याचुरल डिजास्टर’ का अनुसार बाहियामा विगत ३२ वर्षयता सबैभन्दा बढी पानी परेको छ ।
दक्षिणी बाहियामा वर्षको यो समयमा सामान्य रकमभन्दा पाँच गुणाभन्दा बढी वर्षा भयो। बाहियाका गभर्नर रुई कोस्ताले मंगलबार बिहान स्थानीय रेडियोलाई दिएको अन्तर्वार्तामा हालको स्थिति ‘बम विस्फोट’ भएका वेलाको जस्तो रहेको स्पष्ट पारे।