विद्यार्थीले घाम तापेर परीक्षा दिँदै

पुस १२,२०७८ सोमबार
सिमकोट । हुम्लाका विद्यार्थीहरुले घाम तापेर भएपनि खुला चौरमा बसेर परीक्षा दिइरहेका छन्।
हमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन् । सात गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।
जिल्लाका तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएपछि घाम ताप्दै खुला चौरमा विद्यार्थीको परीक्षा लिइएको मानसरोवर माद्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।
कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएकाले घाम लाग्ने खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकाको सूर्योदय माद्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले जानकारी दिए ।फडेराले हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्याङ्ग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको बताएका छन् ।