कांग्रेस महाधिवेशन : आज मनोनयन दर्ता हुँदै
मंसिर २५, २०७८
काठमाडौं । हिजो उद्घाटन भएको नेपाली काँग्रेसको १४औं महाधिवेशनमा आज मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ ।
पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय सार्वजनिक गरिनेछ ।
त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि बिहान ११ः०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२ः१५ बजे अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिइएको छ ।
सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ । काँग्रेसले यसपटकको महाधिवेशनबाट नेतृत्वमात्रै चयन गर्नेछ ।
निर्वाचन समितिले त्योक्यो उम्मेदारी शुल्क
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा आज मनोनयन दर्ताको लागि निर्वाचन समितिले उम्मेदवारी शुल्क निर्धारण गरेको छ । सभापति पदका उम्मेदवारले ३० हजार,उपसभापति र महामन्त्री २५–२५हजार,सह–महामन्त्रीको लागि २०हजार र केन्द्रीय सदस्यको लागि १०हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ ।