काँग्रेसका शीर्ष नेतृत्व गुटगत भेलामा व्यस्त
विहीबार २३,मङ्सिर २०७८
काठमाडौं । नेपाली काङ्ग्रेस १४ औं महाधिवेशनको तयारीमा केन्द्रित बनेको छ । पार्टी नेतृत्वमा आउन चाहेका शीर्ष नेताहरू छलफल र गुटगत भेलामा व्यस्त भएका छन् । नेपाली काँग्रेसका शीर्ष नेताहरु भोलि सुरु हुने काँग्रेसको महाधिवेशन केन्द्रीत छलफल र गुटगत भेलामा व्यस्त भएका छन् ।
संस्थापन पक्षले आज उम्मेद्वारहरूको टुङ्गो लगाउने गरि छलफल गरिरहेको नेता मीनबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले सभापतिमा शेरबहादुर देउवा नै सर्वसम्मत रहेको बताउनुभयो ।
यस्तै पदाधिकारी चयनको लागि सभापति देउवाले निर्णय गर्ने उहाँको भनाइ छ । प्रदेशगत रुपमा नेताहरुले भूगोल, जातजाती नछुट्ने गरी ८ जना सहमहामन्त्री र केन्द्रीय सदस्य चयन गर्ने नेता विश्वकर्माले बताउनुभयो । उहाँले नेतृत्व चयनका लागि आन्तरिक तथा बाह्य रुपमा छलफल गरिरहेको पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई बोलाएर उनीहरुको आकाङ्क्षा बुझ्नुभएको छ भने केहीलाई उम्मेदवार उठाउने आश्वासन पनि दिनुभएको छ । यता संस्थापन इतर पक्षमा भने सभापतिको साझा उम्मेद्वारको टुङ्गो लगाउनै सकस भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला लगायतको बैठक निरन्तर रूपमा बसिरहेको भएपनि कसलाई सभापति बनाउने भन्ने टुङ्गो भने लाग्न नसकेको नेता जीवन परियारले बताए । भोलिबाट सुरू हुने महाधिवेशनबाट एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री, १ कोषाध्यक्षसहित १ सय ६८ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।