कर्णाली सरकारको निर्णय :बाढी पहिरोमा ज्यान गुमाउने परिवारलाई २ लाख राहत
५ कार्तिक २०७८ शुक्रबार
सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमापरि ज्यान गुमाउने परिवारलाई दुर्घटना बीमाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले दुर्घटना बीमाबाट तत्काल दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले बताउनु भयो । प्रदेश सरकारले प्रदेशका नागरिकको सामूहिक विपद् दुर्घटना बीमा गरेको छ ।
कर्णाली प्रदेशमा पछिल्लो समय बाढी पहिरोबाट ७ नाको ज्यान गएको छ बाढी भने ४ जना घाइते हुनुका साथै १ जना बेपत्ता भएका छन् ।
विपदमा परि घाइते भएका व्यक्तिहरुको निःशुल्क गर्ने उपचार र बन्द भएका सडक, पुल, खानेपानी, सिँचाइ र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने गरी काम थाल्ने निर्णय भएको गरेको छ । कर्णालीका १० जिल्लामा खेतीबालीमा भएको क्षतिको यकिन विवरण सङ्कलन गरी किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, पूर्णरुपमा क्षति भएका घरहरुको विवरण सङ्कलन गरी सङ्घीय र स्थानीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापना गर्ने, विपद्का कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लागत सङ्कलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।