नेता भीम आचार्य भाई मृत अवस्थामा भेटिए

२०७८ भाद्रा,१० विहीबार
सुनसरी । एमाले नेता तथा आजैमात्र प्रदेश नम्बर १ को संसदीय दलका नेता चयन भएका भीम आचार्यका भाइ मृत अवस्थामा फेला परेका छन्।
भीमका भाइ राम आचार्य आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सुनसरी इनरुवा ३ स्थित आफ्नै घरमा आज बिहान उनी मृतावस्थामा भेटिएका छन् । अबेरसम्म पनि ढोका नखुलेपछि आफन्तले प्रहरीलाई खबर गर्नु भएको थियो,’ सुनसरी जिल्लाका प्रहरी प्रमुख संजय थापाले घटनाबारे जानकारी दिए।
प्रहरी स्रोतका अनुसार उनको कोठा नजिकै विषादीको बट्टा फेला परेको छ। उनको कोठामा भित्रबाट चुकुल लगाइएको थियो। उनी ५९ वर्षका हुन्। एक तले घरमा उनी र श्रीमती मात्र बस्दै आएका थिए। आजै रामका दाजु भीम आचार्य प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने तयारीमा छन्। उनी केहीबेर अघिमात्रै संसदीय दलको नेतामा चयन भएका हुन्।