सुरक्षाबाहेक सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा
२०७८ श्रावण,१८ गते सोमबार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्रेष्ठले चैत मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममा उहाँले आफ्नो सय दिने कार्ययोजना सार्वजनिक गर्दै असोज मसान्तसम्म एक तिहाई जनसंख्या र चैत मसान्तसम्म सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने बताउनुभयो ।
यस्तै भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने जानकारी उहाँले दिनुभयो । त्यसैगरी १२ देखि १८ वर्ष उमेर समूहलाई हुने फाइजरको ६० लाख खोप खरिद प्रक्रिया प्रारम्भ भएको पनि उहाँले बताउनुभयो ।
यस्तै राज्यमन्त्री श्रेष्ठले आफू संलग्न सम्पूर्ण व्यवसायिक संग्लनताबाट अलग हुँदै काम गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले आफू राज्यमन्त्रीमा रहँदा सरकारबाट प्राप्त भएको सुरक्षा सेवा बाहेकको सबै सेवा सुविधा पनि नलिने घोषणा गर्नुभएको छ ।