एमाले स्थायी कमिटी भोलि बस्ने गरि आजको बैठक स्थगित

२०७८ श्रावण,१६ गते शनिबार
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ । माधव नेपाल पक्षीय नेताहरूको आग्रहमा बैठक स्थगित गरिएको हो । अझै पनि एकताको प्रयास जारी राख्ने भन्दै नेपाल निकट नेताहरूले आजको बैठक रोकेर माधव नेपालसँग छलफल गर्न आग्रह गरेका थिए । पार्टी एकताका बारेमा छलफलल भइरहेको बारेमा बैठकलाई जानकारी गराएपछि भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको नेता सुवास नेम्वाङले बताउनु भयो ।
बैठकपछि नेता नेम्वाङले भन्नुभयो, ‘स्थायी कमिटीको बैठकमा अहिलेको पार्टीको एकताको सन्दर्भमा भइरहेका प्रयासहरुको बारेमा मैले जानकारी गराएँ ।
आज मात्रै पनि हामीले यससम्बन्धी छलफल अघि बढाएको र यसैको आधारमा पार्टीलाई एकताबद्ध बनाउन प्रयास अगाडि बढाइएको मैले जानकारी गराएँ । त्यसपछि भोलिसम्मका लागि बैठक स्थगित भएको छ ।’
शनिबार बिहान सिंहदरबारमा कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो । अझै पनि एकताको प्रयास जारी राख्ने भन्दै नेपाल निकट नेताहरूले आजको बैठक रोकेर माधव नेपालसँग छलफल गर्न आग्रह गर्नुभएको थियो । बैठक बसे पनि एजेण्डामा प्रवेश नगरी स्थगित भएको उनको भनाई छ । नेताहरूले आइतबार दिउँसोसम्म टुङ्गो नलागेमा अब एमाले माधव नेपाललाई नपर्खी अघि बढ्ने बताएका छन