प्रधानमन्त्रीमा देउवाको नियुक्ति र सपथ आजै। सानो आकारको मन्त्रिमण्डल गठन
२०७८असार २९गते मगलबार
काठमाडौं । विश्वासको मत नलिएसम्म नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।
सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आजै प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउनुहुने भएको छ । सर्वोच्च अदालतबाट हिजो भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ पुगेको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार सर्वोच्च अदालतको फैसला प्राप्त भएपछि के कसरी अघि बढ्ने भन्ने बारेमा तयारी भइरहेको छ ।
शीतलनिवास स्रोतका अनुसार आज साँझ ५ बजेभित्रै काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको छ । काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका विपक्षी गठबन्धनले पनि देउवाको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय हिजो गरेको छ । राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलका अनुसार आज बिहान कसरी सरकारमा जाने भन्ने बारेमा विपक्षी गठबन्धनबीच छलफल हुनेछ ।