एमालेको कार्यदलको बैठक स्थगित, ओली र नेपाल पक्षका आन्तरिक छलफलमा
२०७८असार २४बिहीबार
काठमाण्डौ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक साँझ ७ बजेका लागि बोलाइएको छ । आज दिँउसो साढे १२ बजे अर्थ मन्त्रालयमा बोलाइएको बैठक साँझ ७ बजे बस्ने गरी स्थगित गरिएको अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्नेगरी साँझको बैठक बोलाइएको उहाँको भनाइ छ ।
एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष र अध्यक्ष ओली पक्ष दुबैले छलफल सकारात्मक भइरहेको बताउँदै आएको छ । एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजोपनि भेटवार्ता भएको थियो । भेटका क्रममा दुवैले आ–आफ्नो अडान राखेका थिए । यसबीच एमालेको विवाद समाधान कार्यदल क्रियाशील रहेको थियो । यो कार्यदल विवाद समाधाननजिक पुगेको दाबी गरिएको छ । कार्यदलमा दुवै पक्षका पाँच÷पाँच जना सदस्य छन् । ओली पक्षका सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल पक्षबाट डा.भीम रावलको संयोजकत्वमा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।