राष्ट्रपतिको निर्णयसमेत गैरसंवैधानिक भएको सर्वोच्चलाई सभामुखको जवाफ
२०७८ असार,३ बिहिबार
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानअनुसार प्रधानमन्त्रीमा दावी प्रस्तुत भएपछि विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै भएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिट निवेदनमा आज लिखित जवाफ पठाउँदै सभामुख सापकोटाले विश्वासको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा नै भएको बताउनुभएको छ ।
सभामुख सापकोटाले यो कदम नेपाली जनताको स्थिरता र सुशासनको भावनामाथिको कुठराघात रहेको भन्दै यस कार्यले संविधानको धारा ६१ को उपधारा ९४० बमोजिम संविधानको पालन र संरक्षण गर्ने कर्तव्यबाट राष्ट्रपतिसमेत विमुख देखिएको जवाफमा उल्लेख छ ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा संसद्बाट आफूलाई सहयोग नभएको आरोप लगाइए पनि गत फागुन ११ गतेदेखि शुरु भएको नौ बैठकमा प्रधानमन्त्रीको उपस्थिति नरहेको सभामुखले जानकारी गराउनुभएको छ । गत वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनबाहेक अन्य कुनै पनि बैठकमा प्रधानमन्त्रीको उपस्थितिसमेत नरहेको सभामुखले जवाफमा जानकारी दिनुभएको छ ।