देशभर कहाँ–कहाँ छ निषेधाज्ञा छ ?

फिल्को मिसन

२०७८ बैशाख १५, बुधबार
काठमाण्डौ । राजधानीसहित उपत्यकाका तीनवटै जिल्लामा बुधबार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा लाग्दै छ। तीनवटै जिल्ला प्रशासन कार्यालयले एक हप्ताको लागि निषेधाज्ञा लगाउने निर्णय गरे पनि पछि मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । यो निर्णयसँगै काठमाण्डौका तीनवटै जिल्लामा बिहीबार बिहान ६ बजेदेखि १५ दिनसम्म निषेधाज्ञा अलागाउने भएको छ ।

काठमाण्डौमा मात्रै होइन कोरोना संक्रमण बढी भएका अरु जिल्लामा पनि निषेधाज्ञा लगाइएको छ । कास्की, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा लगाइएको छ । बर्दिया, बाग्लुङ र कालिकोटमा भने आंशिक निषेधाज्ञा छ । बर्दियाको गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा १३ गतेदेखि २० गतेसम्म निषेधाज्ञा लगाइएको छ ।
बाँकेमा १३ गतेदेखि २० गतेसम्म, कास्कीमा १५ गतेदेखि २१ गतेसम्म, दाङमा १७ गतेदेखि २५ गतेसम्म, कैलाली र पर्सामा १६ गतेदेखि २२ गतेसम्म, रुपन्देहीमा १६ गतेदेखि २९ गतेसम्म, सुर्खेतमा १५ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।
यस्तै बाग्लुङ नगरपालिकाको वडा नं. ३ मा ७ गतेदेख १७ गतेसम्म र कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नं. ११ मा १०गतेदेखि १७ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।
केन्द्र सरकारले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ । यसैअनुसार जिल्ला तहमा निषेधाज्ञा लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस