प्रधानमन्त्रीको पदमा दाबी गरेको छैन प्रचण्ड
२०७७ चैत,५विहीबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।” “सहमति अब धेरै टाढा छैन”, उहाँले भन्नुभयो । लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जीत हुने बताउनुभयो । अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उहाँले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताउनुभयो ।