५ सय ८० कैदीबन्दीको कैद सजाय मिनाहा, १५ जनालाई आममाफी

फिल्को मिसन

२०७७ फाल्गुन ,६शुक्रबार

काठमाण्डौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधान अनुसार १ सय ७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४ सय १ कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको थियो ।
बाँकी सजाय मिनाहा पाएका मध्येका १ सय ७९ जना कैदी व्यक्ति हत्या लगायत कसुरमा जन्मकैद सजाय पाएर कारागारमा सजाय भुक्तानरत कैदीबन्दी हुन् । यसैगरी मन्त्रिपरिषद् बैठकले अपराधमा दोषी ठहर भई कानुनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैद मै भएका १५ जनालाई आममाफी दिने पनि निर्णय गरेको छ ।
सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

 

प्रतिक्रिया दिनुहोस