निर्वाचनको तयारी तीब्र बनाउन प्रधानमन्त्रीको निर्देशन

फिल्को मिसन

२०७७ माघ,२७मंगलबार
काठमाण्डोैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १७ र २७ मा हुने मध्यावधी निर्वाचनको तयारी तीव्र बनाउन निर्वाचन आयोगलाई निर्देशन दिनुभएको छ ।
आज काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीको कामलाई अघि बढाउन निर्देशन दिनुभएको हो । छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले हालसम्म निर्वाचनको तयारी अन्तर्गत भएका कामकारबाही बारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
हालसम्म भएको तयारी सन्तोषजनक भएको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको थियो । निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आयोगले गरेको निर्वाचनको सम्पूर्ण तयारीका लागि सरकारका तर्फबाट धन्यवाद दिनुभएको जानकारी गराउनुभयो । छलफलका क्रममा निर्वाचनका अवधिमा अवश्यक सुरक्षा, निर्वाचनका लागि चाहिने बजेट लगायतका विषयमा कुराकानी भएको र त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रधानमन्त्रीले जानकारी गराउनुभएको थापाले बताउनुभयो ।

सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको हो । एक मन्त्रीले बताएअनुसार हिजो बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस