प्रचण्ड–नेपाल पक्षले भोलिको प्रदर्शनका लागि तोक्यो जिम्मेवारी
२०७७ माघ,२७मंगलबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले भोलि काठमाडौंमा गर्ने प्रदर्शनका लागि नेताहरुलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड–नेपाल पक्षले विरोध प्रदर्शन गर्न लागेको हो ।पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ । पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् ।
त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ । प्रचण्डले यो विरोध प्रदर्शनलाई व्यापक बनाउन हिजो काठमाडौंमा आयोजित एक सभाबाट कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।हालै प्रधानमन्त्री ओलीले पनि दरबारमार्गमा सभा गर्नुभएको थियो । उक्त सभामा ३५ हजारजति मानिस भेला भएको भन्दै प्रचण्डले अब आफूहरूले जित्ने वातावरण बन्दै गइसकेको र ओलीले हार्ने अवस्था सिर्जना भइसकेको दावी गर्नुभएको थियो ।