दैलेखमा हँसिया आतंकः चार महिला घाइते, एकको अवस्था गम्भीर
२०८३कार्तिक २२,आइतबार
दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहारबाट चार महिला घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्की महिलाका दुवै हत्केला काटिएका छन्।
प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको घरमा पुगेर घरका सदस्यहरूमाथि हँसिया प्रहार गरेका थिए।
घटनामा चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बिमा मगर गम्भीर घाइते भएकी छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। त्यस्तै, चन्द्रबहादुरकी भाइबुहारी २५ वर्षीया महेसरा पुनका दुवै हत्केला काटिएका छन्।
अन्य घाइते २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगरको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी ठाटीकाँधबाट खटिएको टोलीले रावतलाई नियन्त्रणमा लिएको छ। घाइते चारै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोलीसमेत घटनास्थलमा खटिएको छ। घटनाको कारण भने खुल्न सकेको छैन।