सुरक्षित मातृत्व प्रवद्र्धन गर्न हुम्लाका दुई पालिकामा सडक नाटक
२०८३ कार्तिक २२ गते, आइतबार
सिमकोट । मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा र सुरक्षित मातृत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हुम्लाका दुई स्थानीय तहमा सडक नाटक प्रदर्शन गरिएको छ।
स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सिमकोट र सर्केगाड गाउँपालिकामा सडक नाटक प्रदर्शन गरिएको हो।
नाटक मार्फत गर्भवती महिलाले नियमित आठ पटक गर्भावस्थाको स्वास्थ्य परीक्षण गराउनुपर्ने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउनुपर्ने तथा प्रसूतिपछि आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो।
ग्रामीण क्षेत्रमा अझै कायम रहेको अन्धविश्वास, घरमै सुत्केरी हुने प्रवृत्ति र स्वास्थ्य सेवाप्रतिको न्यून पहुँचलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा देउडा गीतसमेत प्रस्तुत गरिएको थियो।
सडक नाटकले दुर्गम समुदायमा सुरक्षित मातृत्व तथा मातृ र नवजात शिशुको स्वास्थ्य सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।