तीन हजार भन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइँदै हुम्लामा

जय भण्डारी

माघ २६,२०८१
हुम्ला । हुम्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप आइपुगेको छ। आउँदो फागनु १८ गतेबाट सुरु हुने एचपीभी खोप यहाँ आइपुगेको हो । जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका अनुसार १० देखि १४ वर्ष उमेर समूहकाका लागि ३ हजार ७ सय ८० भाइल खोप आइपुगेको छ। पर्याप्त खोपको मात्रा आइपुगेकाले मापदण्ड भित्रका कुनै पनि किशोरीहरू खोप लगाउनबाट वञ्चित नहुने जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रतिक्षा भारतीले बताइन् ।
हिमाली जिल्ला हुम्लामा केही ढिलो गरी शुरु हुने एचपीभी खोपको ६वटा गाउँपालिकामा शुरु हुनेछ भने नाम्खा गाउँपालिकामा अहिले समय पछि खोप संचालन गरिने भएको छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) खोपका लागि उक्त खोप हुम्लामा आइपुगेको हो । हिमाली जिल्ला हुम्लामा अहिले विद्यालयहरु बन्द भएकै कारण फागुन १८ गतेबाट शुरु गर्ने भएको हो । यो जिल्लामा फागुन २ गते विद्यालय सञ्चालन हुने भएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख भारतीका अनुसार, जिल्लाका ७ वटा स्थानीय तहमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान सञ्चालन हुने भएको बताउनुभयो ।
देशभर माघ २२ गतेदखि फागुन ६ गतेसम्म यो खोप अभियान सञ्चालन हुने भएपनि हुम्लामा भने फागुन १८ गतेदेखि केही ढिला गरी खोप अभियान सञ्चालन हुने भएको प्रमुख भारतीले बताइन् । जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्लाको विभित समस्यालाई हेरी केही समय ढिला गरी यो खोप अभिययान सञ्चालन हुने भएको हो ।
जिल्लाको ६ वटा स्थानीय तहमा फागुन २९ गतेसम्म र नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमी, यारी लगायतका गाउँ हिउँले बाटो बन्द भएकोले फागुन महिनाको २० गते देखि २०८२ सालको बैशाख ७ गतेसम्म खोप अभियान सञ्चालन गर्नेे प्रमुख भारतीले बताउनुभयो ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको १७ खोप केन्द्रबाट ३ सय १९ किशोरी, सिमकोटमा २० खोप केन्द्रबाट ७ सय ५६, खार्पुनाथमा १५ खोप केन्द्रबाट ३ सय ६५, सर्केगाडमा १८ खोप केन्द्रबाट ६ सय ८६, चंखेलीमा ७ खोपबाट ३ सय ३१, अदानचुलीमा १० खोप केन्द्रबाट ६ सय ७ र ताँजकोटमा १२ खोप केन्द्रबाट ३ सय ७८ जना किरोशीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि उक्त खोप लगाइने तयारी गरिएको छ । खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र १ सय ९८ जना स्वयंसेवक परिचालन गरिने भएको छ । जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ निकट भविष्यमा महिलाको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको जोखिमलाई मध्यनजर गर्दै एचपीभी खोप अभियान सुरु हुन लागेको स्वास्थ्यकर्मी बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस