नेपाल भित्रिने रेमिट्यान्स ४.९ प्रतिशतले घट्यो
फागुन २७,२०७८
काठमाडौं । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो सात महिनामा नेपाल भित्रने रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा विभिन्न देशबाट ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैदेशिक रोजगारी तथा अध्ययनका गरेका नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा ४.९ प्रतिशतले कमि आएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई ५ खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,००,१०२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १,५२,३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतलेघटेको थियो ।