एमाले अध्यक्ष ओलीले गरे सरकारको आलोचना
माघ ९ ,२०७८
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भूभागमा एकतर्फी संरचना निर्माण गरिरहँदा पनि सरकारले आफ्नो अडान स्पष्ट पार्न नसकेको असन्तुष्टि पोख्नु भएको छ ।
उहाँले भारतले एकतर्फी रुपमा संरचना निर्माण गरिरहँदा नेपालको अडान स्पष्ट पार्न समेत नसक्नुले सरकारले निरीहता प्रकट गरिरहेको आरोप पनि लगाउनुभएको छ । अध्यक्ष ओलीले आज बक्तव्य जारी गर्दै वर्तमान सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूक दर्शक बनेको आरोप लगाउनु भएको छ ।
अहिले मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखा परेका छन, राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा विदेशीहरूका लागि कम्फर्टेबल बन्ने वचनबद्धता सहित गठन भएको सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको छ, ओलीले निकालेको विज्ञप्तिमा लेखिएको छ । अध्यक्ष ओलीले भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुँडाइएर महाकालीमा बेपत्ता पारिएका जयसिंह धामी प्रकरणमा पनि सरकार लाचार बनेको बताउनुभएको छ ।
यस्तै, अध्यक्ष ओलीले वैशाखमा प्रतिनिधि सभाको चुनाव असल मनशाय नभई स्थानीय तहको चुनाव पर धकेलेर मुलुकमा राजनीतिक अन्योलता सिर्जना गर्ने कार्डको रुपमा आएको दाबी पनि गर्नुभएको छ ।